फिचर/सफलताका कथा

बुधमाया भन्छिन् : ‘अब चाँहि म एक्ली छुइँन भन्ने लाग्न थालेको छ ।’




प्रकाश धौलाकोटी
तेह्रथुम । जिल्लाको ओख्रे गाउँ विकास समिति  १ लामकटेरी बस्ने बुधमाया बराइली विहान उठेदेखि साँझ सम्म मेलापातमै हुन्छिन् । घरमा बिहान बेलुकाको छाक टार्न र घर व्यवहार चलाउन बनिबुतो गर्दैमा उनको दैनिकी बित्ने गर्छ । बाह्रै महिना घर बाहिर मेलापातकै काममा अल्झिनु, कमाउनु ल्याउनु, घर खर्च टार्नु छोराछोरी पढाउनु र चाड पर्व आउँदा घरको मेलोमेसो मिलाउनु उनी एक्लैको बाध्यता हो । त्यसो त ३७ वर्षीय बुधमायाका घरमा उनी एक्ली भने होइनन् । उनको ६ जनाको परिवार छ । घरमा दुई छोरी, दुई छोरा र श्रीमान् पनि छन् । 
Image title
छोराछोरी स्कुल पढ्छन् । श्रीमान् ६ वर्ष अघि लडेर हात भाँचिए पछि अहिले अपाङ्ग छन् । काम गर्न सक्दैनन् । त्यसैले पनि घरको सम्पुर्ण जिम्मेवारी बुधमाया एक्लैको काँधमा परेको हो । बुधमाया भन्छिन्–“आफ्नो सम्पुर्ण आड भरोसा भनेकै उही हुनुहुन्थ्यो, उहाँ ठीक हुन्जेल त राम्रै थियो, दुःख सुख खुसी नै थियौँ । तर जब उहाँको हात भाँचियो, तब देखि मेरो जीवनको आड भरोसा पनि टुट्यो ।”

श्रीमान् ४८ वर्षीय जितबहारको हात भाँचिए पछि बुधमायालाई परिवार चलाउन गाह्रो भयो । त्यसपछि उनको अधिकांश समय मेलापात र खेतबारीमा बित्न थालेको हो । दुई दिन आफ्नोमा काम गर्दा चार दिन अर्काकामा काम गर्न जानपर्ने बाध्यता छ बुधमायालाई । आफ्नो भन्नु करिब सात रोपनी जग्गा बाहेक केही छैन, त्यो बारीमा लगाएको मकैबालीले ४ महिना बाहेक खानै पुग्दैन, भक्कानिएर आँसु झार्दै बुधमायाले भनिन्–बिहान बेलुका के खाऊ ? के लाऊ ? हुन्छ, छोराछोरी दुःखले पढाउदैछु । 

लडेर हात भाँचिएका उनका श्रीमान् जितबहादुरको समयमा उपचार गर्न नसक्दा अहिले सम्म अपाङ्ग भएर बस्न बाध्य भएका हुन् । तर शारीरिक रुपमा पुर्ण अशक्त भएपनि उनले कतैकसैबाट केही पनि पाएका छैनन् । अपाङ्ग भत्ताका लागि पहल गर्दा पनि आफुलाई अपाङ्ग भनेर मागिखाने भाँडो बनाएको भनेर गाली मात्र खाएको जितबहादुरले सुनाए । उनलाई जिल्ला महिला तथा बालबालिका कार्यालयले अपाङ्गता परिचय पत्र पहेँलो कार्ड दिएको छ । Image title

 दिनदिनै छोराछोरी हुर्किदै जाँदा बुधमायालाई केही सजिलो चाँहि हुदै छ । आफ्नो विगतबारे बताउँदै उनले भनिन्–‘मन भित्र जति पीडा हुनु पहिले भयो, अब चाँहि बरु अलिक सजिलो हुदैछ ।’ अहिले ठुली छोरी १६ वर्षीय अनु कक्षा–१० मा पढ्छिन् । उनी पनि आमा सँगै बिहानबेलुका घरको काम गरेर दिउँसो स्कुल जान्छिन् । अरु छोराहरु र छोरी पनि घरको सानो तिनो काम सघाउने भएका छन् । आजभोलि उनलाई अपाङ्ग र छोराछोरीले घर भित्रको काममा भने त्यति लगाउँदैनन् । 

बुधमाया भन्छिन्– पहिले भन्दा अलिक सजिलो चाँहि हुदैछ, दुःख सुख छोरा छोरी हुर्काउदैछु, पढाउदैछु । अहिले पहिले जस्तो समय छैन, गाउँमा खुलेका विभिन्न समूहहरुकोे पनि साथ पाएकी नै छु । उनी भन्छिन्–पहिले पहिले श्रीमानले घर बाहिरको व्यवहार मिलाउँदा म घर भित्रै हुन्थेँ, घरबाहिरको संसार थाहै हुदैनथ्यो, तर अहिले मेरो जीवनको परिवर्तनको श्रेय यही समाजलाई जान्छ । 

गाउँमा गठन भएको सयपत्री महिला कृषक समुहमा आवद्ध उनले मेलापातको काम सँगै बिहान बेलुकाको समय दिएर घरमा दुई वटा बंगुर पनि पालेकी छिन् । उनले एक्सनएड अन्तराष्ट्र्रिय नेपालको सहयोगमा दलित सचेतना समाज नेपालले सन्चालन गरिरहेको महिला समुह मजबुतिकरण परियोजना अन्तर्गत गठन भएको सो समुहबाट पाएको अनुदान ४ हजार ५ सय रुपैयाँमा १५ सय थपेर बंगुर पालेकी हुन् । 


दुई वर्ष अघि तीन हजार रुपैयाँ गोटाले खरिद गरेर पालेका दुई मध्ये एउटाले यसवर्ष मात्रै उनलाई २० हजार बढी आम्दानी दिएको छ । बंगुरपालन तालिम सँगै अनुदान समेत पाएपछि बंगुर पालेकी उनले घरैबाटै पाठा बेच्दै छिन् । नौ वटा पाठा बेच्दा सरदर २० हजार रुपैयाँ आम्दानी हुने उनले बताइन् । उनी एक वर्ष सम्म अर्काकामा काम गर्दा पनि यत्तिका रकम एकमुष्ट कहिल्यै नथापेको बताउँछिन् । उनी भन्छिन्–‘एउटा माउ बाटै यतिका रकम आम्दानी भयो, अझै माउ त जस्ताको त्यस्तै छन्, अब त अझ राम्ररी बंगुर पालौँ भन्ने लाग्न थालेको छ ।’ अब व्यावसायिक रुपमै बंगुरपालन गर्न कसैले सहयोग गरे हुन्थ्यो भन्ने लागेको बुधमायाले बताइन् । 
Image title
सामान्य पनि लेखपढ नभएकी बुधमाया अहिले आफ्नो नाम सम्म भने आफैँ लेख्न सक्ने भएकी छिन् । तर त्यति उपलब्धि पनि आफैँ मिलेको भने होइन । समुहमा आवद्ध महिलाहरुका लागि अर्धसाप्ताहिक रुपमा २–२ घण्टा हुने रिफ्लेक्ट कक्षामा उनले नाम लेख्न सिकेकी हुन् । त्यति मात्र होइन, रिफ्लेक्ट कक्षा धाउन थालेपछि बुधमायाले आफ्ना समस्या सामुहिक रुपमा सधामान समेत गर्न पाएकी छिन् । आफुलाई परेका समस्या सामुहिक रुपमा सल्झाउँदा एक्लोपन हटेको उनले बताइन् ।

‘पहिले–पहिले मेलापातबाट घर फर्केर रातभर निदाउनै सक्दिनँथे, सधै एक्लो महसुस हुन्थ्यो, आफ्ना समस्या सुनाउने मान्छे पनि कोही थिएन,’ बुधमाया भन्छिन्–‘तर अहिले सजिलो भएको छ, धैरै कुरा रिफ्लेक्ट कक्षामै सिकियो, धेरै समस्याको समाधान पनि समुहिक रुपमै गरियो, अब चाँहि म एक्लो छुइनँ भन्ने लाग्न थालेको छ ।’

उनले आफुलाई प्रगतिको बाटो देखाउने र एक्लोपन हटाउने दातृसंस्थालाई पनि धन्यवाद दिइन् ।

 

घर जलेपछि एक्लिइन् दिलकुमारी

प्रकाश  धौलाकोटी, तेह्रथुम- गतसाता हमरजुङकी दिलकुमारी बराइलीको घरमा अचानक आगलागी हुँदा उनको सम्पूर्ण श्रीसम्पत्ती जल्यो । स्थानीय प्रहरीले घटनाको मुचुल्का बनाई आगलागीको कारण खोजी गर्ने भन्दै आगलागीबाट करिब साढे दुई लाखको क्षति भएको अनुमान ग¥यो । घटनाबारे प्रहरी र सन्चारमाध्यम तथा स्थानीय सामाजिक परिचालकमार्फत सबैले जानकारी पनि पाए तर,  उनलाई राहत र पुनःस्थापनामा अहिलेसम्म  कतैबाट सहयोग आएको छैन ।

घरमा एक्लै बस्दै आएकी दिलकुमारीले आँखा भरि आँसु पारेर भनिन् ‘बुबा बितेपछि मेरो आफ्नो कोही पनि थिएन, घरमा एक्लै बस्थेँ, भएको एउटा घर पनि जलेपछि मेरो आड भरोसा सबै जल्यो।  घरसँगै दिलकुमारीको खाने बस्ने र दैनिकी गुजार्ने ठाउँ पनि सकियो ।
 कमजोर आर्थिक अवस्था र पारिवारिक समस्याका कारण पढ्न समेत नपाएकी १७ वर्षीया दिलकुमारी बाबुको सेखपछि सात वर्षदेखि घरमा एक्लै बस्दै आएकी थिइन् । बुवा बिरामी भएर थला परेपछि आमाले बहिनीलाई लिएर घर छाडेर गएको दिलकुमारीले बताइन् । ‘आमा गएपछि  बुवा झन् रोगिएर केही महिना नबित्दै मृत्यु भयो । उनले भनिन् ‘बुवा बितेपछि मेरो जीवनमा खडेरी पर्यो र दुःखका दिन सुरु भए, तर जसो तसो जीवन चाँहि धानेकी नै थिएँ, त्यही पनि खोसियो ।’
बुवा बितेपछि आफन्तको सरणमा बसेकी दिलकुमारी सँधै अर्काको घरमा बस्न सकिनन् । काम गरेर खान सक्छु भन्ने आँटले उनी आफ्नै घरमा बस्दै आएकी थिइन् । भएको थोरै बारीमा लगाएको बालीले एक्लो ज्यान नधान्दा खर्च चलाउन मेलापात गर्दै उनले गुजारा गरिरहेकी थिइन् । फागुन १६  गते साँझ सवै काम सकेर सुतेको दिलकुमारी बताउँछिन् । उनले भनिन् ‘मध्यरातमा अचानक कुखुरा कराउँदै छेऊमा आएपछि ब्युझिँदा घरको माथिबाट आगोको ज्वाला दन्किरहेको देखेँ, धन्न समयमै व्युझिँएछु र मुस्किलले झ्यालबाट भागेरै ज्यानसम्म चाँहि जोगाउन सकें ।

घरसहित सर्वस्व खरानी भएपछि दिलकुमारी फेरि ठुलो बुवा पर्ने पुखलबहादुर बराइलीको आश्रयमा बसेकी छिन् । गहभरि आँसु पारेर उनले भनिन ‘चार वर्षदेखि आफ्नै घरमा बस्दै थिएँ, अब भएको त्यही घर पनि रहेन, कहाँ जाने ? के गर्ने ? कसरी दैनिकी गुजार्ने ? टुङ्गो छैन ।

दिलकुमारीको घर बनाइदिने विषयमा गाउँमा छलफल पनि भयो । तर अन्य आय श्रोत र बचत रकम केही नभएकी उनलाई गाउँलेले दिएको पैसाले घर बन्ने देखिएन र त्यो विषय त्यतिकै टुङिगएको छ । छिमेकी र आफन्तको शरणमा कतिन्जेल बाँच्नु र रु दिलकुमार भन्छिन् ‘अरुका घर जल्दा त संघसंस्था र सरकारले राहत दिन्छन्, मलाई त घरसँगै संसार जल्दा पनि कसैले केही दिएन, दिलाएन ।’

दिलकुमारीलाई अहिलेसम्म  जिल्ला दैवी प्रकोप उद्धार समिति मार्फत पाउने राहत रकम समेत पनि पाएकी छैनन् । आफू लेखपढ गर्न नसक्ने अरुले प्रव्रिmया पुर्याएर निवेदन दिन सहयोग गर्ने मान्छे नहुँदा अहिलेसम्म कतैबाट राहत पाउन नसकेको उनको गुनासो छ ।   

जिल्ला प्रशासन कार्यालय तेह्रथुमका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले भने आफूलाई औपचारिक रुपमा जानकारीसहितको निवेदन नआएको बताएका छन् । प्रक्रिया पुर्याएर आए सरकारले गरेको प्रावधान अनुसारको क्षतिपुर्ति रकम दिने उनले बताए ।  

No comments:

Post a Comment