Monday, August 3, 2015

तेह्रथुम अदालतमा ६८ प्रतिशत मुद्धा फच्र्यौट



प्रकाश धौलाकोटी
तेह्रथुम, १७ साउन । तेह्रथुम जिल्ला अदालतले गत आर्थिक वर्ष २०७१÷०७२ मा एक सय ६५ थान मुद्धा फच्र्यौट गरेको छ । अदालतले गत आर्थिक वर्ष जिम्मेवारी सरेर आएका सहित दर्ता भएका  जम्मा २ सय ४० थान मुद्धा मध्ये १ सय ६५ थान मुद्धा फच्र्यौट गरेको जिल्ला अदालत तेह्रथुमका न्यायाधिश मातृकाप्रसाद आचार्यले जानकारी दिए  ।
उनका अनुसार आर्थिक वर्ष २०७०/०७१ बाट ७१ थान मुद्धा जिम्मेवारी  सरेर आएका थिए । जिम्मेवारी सरेर आएका ७१ थान र गत आर्थिक वर्ष अदालतमा दर्ता भएका १ सय ६९ थान मुद्धा मध्ये अब फैसला गर्न ७५ मुद्धाहरु बाँकी रहेका हुन् । जिल्ला अदालतका श्रेस्तेदार ईश्वरमणी ओझाका अनुसार गत आर्थिक वर्षमा फच्र्यौट गर्न बाँकी ७५ थान मुद्धा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएका छन् । 
अदालतको लक्ष्य अनुसार गत आर्थिक वर्ष भित्र बढी मुद्धा दर्ता भएका छन् । अदालतमा मुद्धाको संख्या बढेपछि लक्ष्य भन्दा कम अर्थात् ६८.७५ प्रतिशत मात्रै उपलव्धि हासिल गरेको जिल्ला न्यायाधिश आचार्यले बताए । अदालतले गतवर्ष ७५.१ प्रतिशत मुद्धा फच्र्यौट गर्ने लक्ष्य राखेको थियो ।
जिल्ला न्यायाधिश आचार्यले भने–गत वर्ष हामीले जिम्मेवारी सरेर आएका सँगै २ सय १३ वटा मुद्धा दर्ता हुने अनुमान गरेका थियौँ, त्यसको ७५.१ प्रतिशत मुद्धा फच्र्यौट गर्ने लक्ष्य थियो, तर २७ वटा लक्ष्य भन्दा बढी मुद्धा दर्ता भएपछि उपलब्धि प्रतिशत कम मात्र प्राप्त भएको छ । अदालतले १ सय ६० मुद्धा फच्र्यौट गर्ने लक्ष्य राखेर १ सय ६५ मुद्धा फच्र्यौट गर्दा पनि मुद्धाको संख्या बढेपछि उपलब्धि प्रतिशत भने कम देखिएको हो । 
गत वर्ष जिल्लामा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् । गत वर्ष ४१ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएको श्रेस्तेदार ओझाले जानकारी दिए । त्यसमध्ये अब १२ वटा मुद्धाहरु फच्र्यौट हुन बाँकी छन् । यस्तै जिल्लामा जबरजस्ती करणीका घटनामा पनि विगत भन्दा बढी मुद्धा दर्ता भएका छन् । अदालतमा विगतका ९ वटा मुद्धा जिम्मेवारी सरेर आएकामा थप १० वटा मुद्धा गत वर्ष दर्ता भएका छन् । त्यसमध्ये अब दुई वटा मुद्धा फच्र्यौट गर्न बाँकी रहेको अदालतले जनाएको छ । 
यस्तै बहुविवाहका १० थान मुद्धा दर्ता भएका छन् । अदालत श्रोतका अनुसार विगतमा वहुविवाहका घटनाका मुद्धा कमै मात्र दर्ता हुन्थे । गत वर्ष दर्ता भएका १० मध्ये ७ थान मुद्धा फच्र्यौट भएर अब ३ वटा मुद्धा फच्र्यौट हुन बाँकी रहेका छन् । 
यस्तै जिल्ला अदालतले चालु आर्थिक वर्ष भित्र १ सय ८८ थान मुद्धा दर्ता हुने र जिम्मेवारी सरेर आएका ७५ सहित जम्मा २ सय ६३ थान मुद्धा दर्ता हुने लक्ष्य सार्वजनिक गरेको छ । अदालतको श्रेष्तेदार ओझाका अनुसार जम्मा २ सय ६३ थान मुद्धा मध्ये चालु आर्थिक वर्ष भित्रै १ सय ९८ थान मुद्धा फच्र्यौट गर्ने लक्ष्य राखिएको छ ।

No comments:

Post a Comment