Monday, August 3, 2015

तेह्रथुम अदालतमा ६८ प्रतिशत मुद्धा फच्र्यौट



प्रकाश धौलाकोटी
तेह्रथुम, १७ साउन । तेह्रथुम जिल्ला अदालतले गत आर्थिक वर्ष २०७१÷०७२ मा एक सय ६५ थान मुद्धा फच्र्यौट गरेको छ । अदालतले गत आर्थिक वर्ष जिम्मेवारी सरेर आएका सहित दर्ता भएका  जम्मा २ सय ४० थान मुद्धा मध्ये १ सय ६५ थान मुद्धा फच्र्यौट गरेको जिल्ला अदालत तेह्रथुमका न्यायाधिश मातृकाप्रसाद आचार्यले जानकारी दिए  ।
उनका अनुसार आर्थिक वर्ष २०७०/०७१ बाट ७१ थान मुद्धा जिम्मेवारी  सरेर आएका थिए । जिम्मेवारी सरेर आएका ७१ थान र गत आर्थिक वर्ष अदालतमा दर्ता भएका १ सय ६९ थान मुद्धा मध्ये अब फैसला गर्न ७५ मुद्धाहरु बाँकी रहेका हुन् । जिल्ला अदालतका श्रेस्तेदार ईश्वरमणी ओझाका अनुसार गत आर्थिक वर्षमा फच्र्यौट गर्न बाँकी ७५ थान मुद्धा चालु आर्थिक वर्षका लागि जिम्मेवारी सरेर आएका छन् । 
अदालतको लक्ष्य अनुसार गत आर्थिक वर्ष भित्र बढी मुद्धा दर्ता भएका छन् । अदालतमा मुद्धाको संख्या बढेपछि लक्ष्य भन्दा कम अर्थात् ६८.७५ प्रतिशत मात्रै उपलव्धि हासिल गरेको जिल्ला न्यायाधिश आचार्यले बताए । अदालतले गतवर्ष ७५.१ प्रतिशत मुद्धा फच्र्यौट गर्ने लक्ष्य राखेको थियो ।
जिल्ला न्यायाधिश आचार्यले भने–गत वर्ष हामीले जिम्मेवारी सरेर आएका सँगै २ सय १३ वटा मुद्धा दर्ता हुने अनुमान गरेका थियौँ, त्यसको ७५.१ प्रतिशत मुद्धा फच्र्यौट गर्ने लक्ष्य थियो, तर २७ वटा लक्ष्य भन्दा बढी मुद्धा दर्ता भएपछि उपलब्धि प्रतिशत कम मात्र प्राप्त भएको छ । अदालतले १ सय ६० मुद्धा फच्र्यौट गर्ने लक्ष्य राखेर १ सय ६५ मुद्धा फच्र्यौट गर्दा पनि मुद्धाको संख्या बढेपछि उपलब्धि प्रतिशत भने कम देखिएको हो । 
गत वर्ष जिल्लामा सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् । गत वर्ष ४१ वटा सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएको श्रेस्तेदार ओझाले जानकारी दिए । त्यसमध्ये अब १२ वटा मुद्धाहरु फच्र्यौट हुन बाँकी छन् । यस्तै जिल्लामा जबरजस्ती करणीका घटनामा पनि विगत भन्दा बढी मुद्धा दर्ता भएका छन् । अदालतमा विगतका ९ वटा मुद्धा जिम्मेवारी सरेर आएकामा थप १० वटा मुद्धा गत वर्ष दर्ता भएका छन् । त्यसमध्ये अब दुई वटा मुद्धा फच्र्यौट गर्न बाँकी रहेको अदालतले जनाएको छ । 
यस्तै बहुविवाहका १० थान मुद्धा दर्ता भएका छन् । अदालत श्रोतका अनुसार विगतमा वहुविवाहका घटनाका मुद्धा कमै मात्र दर्ता हुन्थे । गत वर्ष दर्ता भएका १० मध्ये ७ थान मुद्धा फच्र्यौट भएर अब ३ वटा मुद्धा फच्र्यौट हुन बाँकी रहेका छन् । 
यस्तै जिल्ला अदालतले चालु आर्थिक वर्ष भित्र १ सय ८८ थान मुद्धा दर्ता हुने र जिम्मेवारी सरेर आएका ७५ सहित जम्मा २ सय ६३ थान मुद्धा दर्ता हुने लक्ष्य सार्वजनिक गरेको छ । अदालतको श्रेष्तेदार ओझाका अनुसार जम्मा २ सय ६३ थान मुद्धा मध्ये चालु आर्थिक वर्ष भित्रै १ सय ९८ थान मुद्धा फच्र्यौट गर्ने लक्ष्य राखिएको छ ।

असल श्रीमान् जसका कारण सफल छिन् टिकाकुमारी


प्रकाश धौलाकोटी 
तेह्रथुम । जिल्लाको ओयाक्जुङ्ग–६, प्रजाङ्ग बस्तीमा बस्ने ६ जनाको एक लिम्बु परिवारमा ३५ वर्षीय टिकाकुमारी घरकी एक्ली महिला हुन् । तर घरमा कोही नयाँ मान्छे आउँदा उनी आफैँलाई भान्सा छिर्न पर्दैन । आजभोलि मेलापातमा जाँदा कतिवेला घर पुगेर खाना बनाउने भन्ने पनि उनलाई चिन्ता छैन । श्रीमान् कमलबहादुर लिम्बुले काममा श्रीमती र आफुलाई भनेर भाग नलगाउँदा टिकाकुमारीले सुखको श्वास फेर्न पाएकी हुन् । 

श्रीमानकै सहयोगले उनलाई कृषिमा व्यावसायिक बन्न प्रेरित गरेको छ । उनी त्यही सहयोगका भरमा गाउँमा हुने भेला, गोष्ठी र तालिममा सहभागी हुन भ्याउँछिन् । आफु घर बाहिर हुँदा श्रीमान्ले घरको काम सबै ढाकी दिएकाले पनि अहिले सफल भएकी हुँ भन्दै टिकाकुमारीले खुसी पोखिन् । 

गाउँमै गठित प्रजाङ्ग महिला समुहकी उपाध्यक्ष समेत रहेकी टिकाकुमारीले व्यावसायिक अदुवा र अकबरे खेती लगाएकी छिन् । त्यही समुह मार्फत उनले ढाका बुन्ने तालिम लिएर घरैमा ढाका कपडा बुनेर हजारौँ रुपैयाँ पनि कमाउने गरेकी छिन् । पोहोर साल अकबरे बेचेर कमाएको २५ हजारमा श्रीमान्को कमाइ थपेर उनीहरुले बन्धकमा खेत पनि किनेका छन् । यसवर्ष पनि विरुवा थपेर झन्डै ७ सय अकबरे बारीमा रोेपेको उनले बताइन् । बारी र भर्खर किनेको खेतमा पनि गरी अहिले सात क्विन्टल बढी अदुवा त बिऊ मात्र रोपेकी छिन् उनी आफैँले । त्यसबाट ३५ क्विन्टल बढी उत्पादन गर्ने लक्ष्य रहेको उनले बताइन् । जसबाट प्रतिकिलो ६० रुपैयाँका दरले मात्र विक्री गर्ने हो भने पनि दुई लाख रुपैयाँ आम्दानी हुन्छ । 

अदुवा, अकबरे सँगै तरकारी खेतीमा पोख्त टिकाकुमारी अरु खाद्यान्न बालीको खेती भन्दा यो फाइदा जनक भएको बताउँछन् । छोरा मान्छेले घर र भान्साको काम गर्नुहुदैन भन्ने संस्कारको नेपाली समाजका एक नमुना र असल श्रीमान् बनेका छन् उनका श्रीमान् ३८ वर्षीय कुलबहादुर पनि । उनी कर्मी काम गर्छन् । उनले कामका लागि घन्टौँ सम्म धाउनुपरे पनि श्रीमतीलाई घरको काम सघाउदै मासिक १५ हजार रुपैयाँ सहजै कमाउँछन् । कमलबहादुरले घर र खेतीलाई कमै मात्र समय दिन्छन् । तर घर हुँदा भने टिकाकुमारीलाई हदै सघाउँछन् । पहिले–पहिले श्रीमतीको त्यति वास्ता नगर्ने उनी काम बाहेक बचेको पुरै दिन बाहिरै पनि विताउथे । तर जब गाउँमा महिला शशक्तिकरण र सचेतनाको ज्योति छि¥यो, तब कमलबहादुरका आँखा खुलेका हुन् । श्रीमान् बाहिरको काम गर्दा घरभित्र चुलोमै मात्र थुनिएकी टिकाकुमारीले पनि बल्ल केही गर्नुपर्ने रहेछ भनेर सिकेकी हुन् । 

Image title 
फोटो : घरको काम गर्दै टिकाकुमारीका श्रीमान् बलबहादुर । 


उनी भन्छिन्–‘मेरो र मेरो परिवारको आँखा खोलिदिने, भविष्य देखाइदिने दातृ संस्थाहरुलाई धेरै धेरै धन्यवाद छ ।’ जिल्लामा एक्सनएड अन्तराष्ट्रिय नेपालको सहयोगमा देउराली सोसाइटी नामक गैरसरकारी संस्थाले गाउँमै महिला समुह गठन गरी सचेतीकरण गरेकामा उनले धन्यवाद दिएकी हुन् । साधारण लेखपढ बाहेक अरु शिक्षा दिक्षा लिन नपाएकोमा लिम्बु दम्पती गुनासो गर्छन् । चार सन्तानका धनी यी दम्पती अब दिनदिनै नानीहरु ह्ुर्किदै गएकामा झनै खुसी छन् । लिम्बु दम्पती भन्छन्–हामीले लेखपढ गर्न नपाए पनि अब छोराहरुलाई चाँहि राम्रै पढाउन संघर्ष गर्दैछौँ ।घरको काम चाँहि छोरी मान्छेले नै गर्नुपर्छ भन्ने पुरातन संस्कारमा हुर्किए पनि अन्ततः काम जसले गरेपनि हुने रहेछ भनेर बुझेका छन् लिम्बु दम्पतीले । 

बिगत बारे बताउदै कमलबहादुरले हाँस्दै भने– आमालाई सघाउनै भएपनि एउटी छोरी चाहियो भन्ने मनले एक पछि अर्को गर्दै ४ जना छोराहरु जन्मिए, तर अब चाँहि थाकिएछ, ढिलै भएपनि छोराहरुले पनि छोरीहरुको काम गर्न सक्छन् भन्ने बुझियो । उनीहरु अब सन्तान प्रति सन्तुष्ट रहेको बताउँछन् । घरदेखि विद्यालय पनि नजिकै छ । जेठो छोरो सिद्धकाली उच्च माविमा कक्षा ७ मा पढ्छन् । अरु साना छोराहरु पनि सोही स्कुलमा पढिरहेको टिकाकुमारीले बताइन् । उनी भन्छिन् अब त छोरो पनि बढ्दै छ, उसले पनि काममा धेरै सघाउन थालेको छ, सानाहरुले पनि घरको खत्र्याक खुत्रुक कामहरु सघाउँछन् सजिलै छ । 

पहिले पहिले कत्ति दुःख थियो, अहिले त धेरै सजिलो छ, आफुले चाहेको खर्च आफैँ जुटाउन सक्ने भइयो टिकाकुमारीले भनिन् । दुखले उत्पादन गरेका तरकारी बेच्न उनी सदरमुकाम म्याङ्गलुङ्ग सम्म पनि आइपुग्छिन् । घर नजिकै बजार नहुँदा उनले ओयाक्जुङ्ग सँगै जिल्लाका मोराहाङ्ग, जिरिखिम्ती र म्याङ्गलुङ्ग सम्म धाउनुपरेको बताइन् । व्यावसायिक रुपमा कडा परिश्रम सहित गरे माटोमा पनि सुन फल्ने कृषक टिकाकुमारी बताउँछिन् । उनी भन्छिन् पहिले पहिले श्रीमान् विदेश जाने रहन गर्नुहुन्थ्यो, चाडपर्व आउँदा पाहुना पासो आउँदा समस्या हुन्थ्यो, तर अहिले म आफैले घरको खर्च र नानीहरुको पढाइ खर्च टारेपछि श्रीमान्ले कमाएको त चोखै बचत हुन्छ ।

भर्खरै प्रकाशित
बुधमाया भन्छन् - अब चाँहि म एक्ली छुँइन भन्ने लाग्न थालेको छ ।